नेपालमा मसिनो तथा बासमती धान खेति र यसको सम्भाव्यता
परिचय
नेपालमा धान खेतिको प्रचुर सम्भावना छ। खाद्यान्न बाली लगाउने कुल क्षेत्रफलको ४३ % हिस्सामा मात्र धान खेति गरिन्छ। धानले कृषि कुल ग्राहस्त उत्पादनमा १५ % र कुल ग्राहस्त उत्पादनमा ५ % ले योगदान पुर्याएको छ। जन्म देखि मृत्यु संस्कार सम्म धानलाई विविध रुपमा प्रयोग गरिने भएकाले नेपालीमाझ धानको गरिमा बढी छ। नेपालको जिन बैंकमा करिब २४०० जति रैथाने धानको जातहरु संरक्षित छन। मुलुक भित्र धानका जातहरुमा अत्यधिक विविधता देखिएको कारणले गर्दा नेपाल धानको लागि सेन्टर अफ ओरिजन पनि हो। धानका अनेक प्रकार मध्ये मसिनो तथा बास्नादार अर्थात् बासमती धान पनि एक हो। बासमती धानमा पाइने एक रसायन १-एसीटायल २-पाईरोलिनको कारण यस्ता धानहरू वास्नादार तथा सुगन्धित हुने गर्छ। नेपालको कुल क्षेत्रफल मध्ये १२-१३ % क्षेत्रमा रैथाने धान खेति गरिन्छ भने मसिनो तथा वास्नादार धान खेति गरिने क्षेत्रफल यकिन हुन् सकेको छैन।
नेपालमा रैथाने धानका थुप्रै जातहरु मसिनो तथा वास्नादार पाईएका छन। तिनिहरुमा
अधिकांश जातहरु लोप भैसकेका छन र केहि लोपोन्मुख अवस्थामा छन। अहिलेसम्म किसानले
खेतबारीमा लगाउने केहि मुख्य जातहरुमा लालका बासमती, करिया कमोद, कालानमक, कालो नुनिया, जोरायल बासमती, कालो झिनुवा, स्थानीय बासमती, लेकाली बासमती, तिल्की, मालभोग, बिरम्फुल, पोखरेली जेठो बुढो, जेर्नेली, कालो बयरनी, कालो झिनुवा, सेतो झिनुवा, सेतो बयरनी इत्यादी पर्छन। यी जातहरु किसानले मन पराउने भए
पनि यिनीहरु अग्लो हुने र ढल्ने, अनेकौ रोग र किराले ग्रस्त हुने,
उत्पादन न्यून हुने भएकाले यिनीहरुको खेति गर्ने क्षेत्र
घट्दै गएको छ। किसानले यस्ता धानहरुको सट्टा उन्नत या हाईब्रिड मा मसिनो तथा
बास्नादार धानको खेति गर्न बढी रुचाउछ। किनभने उन्नत या हाईब्रिड जात रैथाने जात
भन्दा बढी फल्ने, रोग र किरा न लाग्ने, र न ढल्ने खालका हुन्छ।
हालसम्म नेपाल कृषि अनुसन्धान परिषदले जम्मा ६ वटा वास्नादार धानका जातहरु उन्मोचन गरेका छन् जसमध्ये ४ वटा जातहरु (ललका बासमती, सुनौलो सुगन्धा, सुगन्धित धान-१, सुदोधन कालानमक) तराई क्षेत्रको लागि २ वटा जातहरु (पोखरेली जेठो बुढो, खुमल बासमती-१६) पहाडी क्षेत्रको लागि उन्मोचन गरेका छन। पोखरेली जेठो बुढो पोखरा वरिपरिका लागि मात्र सिफारिस गरिएको छ। ललका बासमती र सुदोधन कालानमक रैथाने जातहरु बाट प्युर लाईन सेलेक्सन विधि प्रयोग गरेर छनौट गरिएको छ। तर पनि यी दुइ जातहरुमा अत्यधिक सुधार भएको पाइएको छैन किनभने यिनीहरुको बोटको उचाई बढी भएको कारण अझै पनि ढल्ने सम्भावना बढी हुन्छ, बढी मल सदुपयोग गर्ने क्षमता छैन र उपयुक्त वातावरण नहुदा रोग र किरा लाग्ने सम्भावना धेरै हुन्छ। सुनौलो सुगन्धा र सुगन्धित धान-१ उन्नत किसिमका धानका जातहरु भए पनि किसान माझ लोकप्रिय देखिएको छैन।
त्यसै गरि ४ वटा मसिनो तथा वास्नादार रैथाने धानका जातहरु दर्ता गरिएका छन। यी
रैथाने जातहरुमा कालो नुनिया, कालो झिनुवा, बयरनी र पहेले
पर्दछन। कालो नुनिया पूर्वी तराई क्षेत्रको लागि सिफारिस गरिएको छ भने अन्य तीन
जातहरु कालो झिनुवा, बयरनी र पहेले मध्य पहाडी क्षेत्रको ८००-१००० मीटर उचाई
सम्मको लागि सिफारिस गरिएको छ। यी स्थानीय जातहरुको उत्पादन अत्यन्तै कम र करिब २
मेट्रिक टन प्रति हेक्टर रहेको छ तर चामलको गुणस्तर अत्यधिक उच्च पाइएको छ।
नेपालमा उन्मोचन गरिएका मसिना तथा वास्नादार धानका जातहरु: सुनौलो सुगन्धा, सुगन्धित धान १, ललका बासमती, सुदोधन कलानमक, खुमल बासमती-१६, पोखरेली जेठोबुढो
सुचिकृत स्थानीय जातहरु: कालो नुनिया, कालो झिनुवा, बयरनी, पहेले
नेपाल धान खेतीको लागि उर्वर भुमि हो। यहाको तराई, पहाड र हिमालको फाटमा सदियौदेखि धान खेति हुदै आएको छ। भौगोलिक बिबिधताका कारण यहाको माटोमा धानका विविध प्रजातिहरु उब्जिदै आएका छन। हिमालमा अत्यन्तै चिसो सहन सक्ने जात लगाइन्छ भने तराईमा गर्मि सहन सक्ने जात लगाइन्छ। बासमती धान २४ देखि ३२ डिग्री तापक्रममा राम्रो फस्टाउछ। तराईको वातावरणमा श्रावनको दोस्रो साता तिर वा त्यसपछी बासमती धान लगाउदा बाली पाक्ने समयमा रातिको तापक्रम दिउसोको तापक्रम भन्दा कम हुने भएकाले त्यस्ता वासमती चामलमा वासनाको स्तर उच्च रहन्छ तर जेष्ठ/असार तिर धान लगाउदा बाली पनि चाडो पाक्ने भएकाले अत्यधिक गर्मीका कारण बास्मतिको वासनामा ह्रास आउने गर्छ। मध्य पहाड, बासमती खेतीको लागि उपयुक्त देखिन्छ किनभने मध्य पहाडमा तुलनात्मक रुपले तराईको भन्दा कम तापक्रम हुने गर्छ जसले गर्दा बासमती धानको वासनामा ह्रास आउदैन र त्यस्तो धान बाट बनेको चामल क्रेताले बढी मन पराउछ। जसरी भारत सरकारले बासमती धान खेतीको लागि GI ट्याग तोकेको छ र निश्चित भूगोलमा बासमती खेति गर्ने लाई मात्र मान्यता दिदै आएको छ त्यसै गरि विशेषत बासमती धान खेतीको लागि पनि नेपाल सरकारले निश्चित क्षेत्र तोक्नु पर्छ र यसमा अनुदान कार्यक्रमको घोषणा गर्नु पर्छ। यसरी नेपालले उच्च मूल्य भएका बासमती धान खेति गरेर बढी भन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्न सक्छ।
Comments
Post a Comment